October 28, 2026
मुख्य समाचार सबै

बुढीगण्डकीमा बाढीको वितण्डा ः ५ गोठाला बेपत्ता भौतिक क्षति र अझै खतरा

काठमाडौं–गोरखाको उत्तरी क्षेत्रमा आएको बाढीमा परी पाँच जना गोठाला सम्पर्कविहीन भएका छन् भने १०० भन्दा बढी चौँरीगाई बगाएको छ ।
आइतबार जिल्लाको चुमनुब्री गाउँपालिका–६ बुढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले ठूलो भौतिक तथा पशुधनको क्षति पु¥याएको हो । आइतबार बिहानको ४ बजेतिर सुरु भएको बाढीले उत्तरी गोरखाका बस्ती, घर, पुल, सडक, विद्युत् तथा सञ्चार संरचना र जलविद्युत् आयोजनामा क्षति पु¥याएको छ ।
बाढीको क्षतिको विवरण संकलन भइरहेको छ । राष्ट्रिय विपद्जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार चुमनुब्री गाउँपालिका–६ चुम्चेतको उज्लिङस्थित भेडीगोठमा रहेका २ महिला र ३ पुरुष सम्पर्कविहीन छन् ।


कति मानवीय क्ष्ँति भयो भन्ने सम्बन्धमा प्राधिकरण वा गृह प्रशासनले अहिलेसम्म पुष्टि गरेको छैन । सम्पर्कविहीन स्थानीयको खोजी तथा उद्धार कार्य जारी छ । पहिलो चरणमा बाढीले १०० भन्दा बढी चौँरीगाई बगाएको उल्लेख भए पनि कति पशुचौपाया मरे वा क्षति भए भन्नेबारेमा एकिन तथ्यांक आएको छैन ।

पहिरोले नदी थुनिएपछि एक्कासि बाढी
अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) को प्रारम्भिक आकलनअनुसार गोरखाको माथिल्लो क्षेत्रमा गएको पहिरोले नदी वा खोलाको बहाव रोकेर अस्थायी बाँध बनाएको र त्यसपछि त्यो झरेको अवरोध फुट्दा ठूलो परिमाणमा पानी, माटो तथा ढुङ्गामाटोसहितको बाढी आएको आशंका गरेको छ । स्थानीय प्रशशासनले चुमनुब्री गाउँपालिका–६ को उङ्गिलुङ क्षेत्रबाट आएको बाढीले स्यार खोलाको बहाव अवरुद्ध गरेको र नदी थुनिएरपछि एक्कासी बाढी आएको बताएको छ ।

घर, पुल र जलविद्युत् आयोजनामा क्षति
बाढीले चुमनुब्री, धार्चे र आरुघाट गाउँपालिकाका विभिन्न स्थानमा भौतिक क्षति पु¥याएको छ । ४० घर बगाएको, २ झोलुङ्गे पुल तथा अन्य पुलका संरचनामा क्षति पुगेको र गोरखा–धादिङ जोड्ने आरुघाट पुलको आरसीसी भागमा असर परेको विवरण सार्वजनिक भएको छ ।
गोरखाको सोतीखोलास्थित ट्रस पुल बाढीले पूर्ण रूपमा बगाएको जनाइएको छ । बाढीले विद्युतका पोल, टेलिफोन टावर तथा जलविद्युत् आयोजनाका निर्माणस्थल र उपकरणमा समेत क्षति पु¥याएको छ । निर्माणाधीन ३४१ मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत् आयोजनाको सल्लेरीस्थित निर्माणस्थलमा पनि क्षति पुगेको छ ।
बाढीले आरुघाटस्थित जल तथा मौसम विज्ञान विभागको जलसतह मापन केन्द्रसमेत बगाएको छ । उक्त केन्द्रको विवरणअनुसार आइतबार बिहान ६ बजे बुढीगण्डकीको जलसतह २.२८ मिटर रहेकामा बिहान ७ः५० बजे ५ मिटरसम्म पुगेको थियो । केन्द्रमा ५ मिटरलाई खतराको तह मानिएको थियो ।

भूकम्पजस्तो कम्पन
बाढी आउनुअघि चुमनुब्री क्षेत्रका स्थानीयले बिहानै भूकम्प आएजस्तो कम्पन महसुस गरेको र नदीको ठूलो गडगडाहट सुनेको बताएका थिए । स्थानीयले सुरुमा भूकम्पको आशंका गरेका थिए ।
तर उक्त हलचल भूकम्पीय गतिविधिका कारण भएको पुष्टि भएको छैन । पहिरोले नदी थुनिएपछि एक्कासि पानीको बहाव खुल्दा उत्पन्न भएको तीव्र गडगडाहट र जमिनमा फैलिएको कम्पनसँग यसको सम्बन्ध हुन सक्ने प्रारम्भिक आकलन गरिएको छ । भूकम्प हो भनेर पुष्टि भने हुन सकेको छैन ।

बुढीगण्डकीमा अझै खतरा
बाढीपछि नदीको बहावमा उतारचढाव देखिएको र माथिल्लो क्षेत्रमा पहिरोले नदी थुनेको हुन सक्ने भएकाले थप जोखिमको आकलन भइरहेको छ । नदीको माथिल्लो भागमा पानी पुनः जम्मा भएमा वा थप पहिरो गएमा एक्कासि बहाव बढ्न सक्ने जोखिमलाई बेवास्ता नगर्न सबैलाई भनिएको छ । सम्बन्धित निकायले बुढीगण्डकी, त्रिशूली र नारायणी नदी प्रणालीका तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेका छन् । गोरखासँगै तनहुँ, चितवन तथा नवलपरासीका नदी किनारमा रहेका बस्तीलाई पनि जोखिमको सूचना दिइएको छ। नदी किनारबाट टाढा रहन, सुरक्षित अग्लो स्थानमा जान र प्रशासनको निर्देशन पालना गर्न आग्रह गरिएको छ ।
नेपाली सेना, नेपाल प्रहरी तथा स्थानीय प्रशासन उद्धार, खोजी र जोखिममा रहेका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने कार्यमा परिचालित छन् । नेपाली सेनाले बाढी प्रभावित क्षेत्रबाट ४९ जनालाई उद्धार गरेको गरिसकेको छ ।
बाढीको वास्तविक कारण, बेपत्ता स्थानीयको अवस्था, पशुधनको कुल क्षति र भौतिक संरचनामा पुगेको नोक्सानीबारे थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया