मुख्य समाचार सबै

बाढीले भत्काएको छेकम्पार जाने पदमार्ग जोडिँदै

काठमाडौं– बूढीगण्डकी नदीमा आएको बाढीले क्षति पु¥याएपछि अवरुद्ध उत्तरी गोरखाको चुमभ्यालीअन्तर्गत छेकम्पार जाने पदमार्ग पुनः सञ्चालनमा ल्याउने तयारी थालिएको छ ।


चुमनुब्री गाउँपालिका–६ चुम्चेतस्थित सर्दिभीरमा रहेको क्यान्टिलिभर पुल बाढीले बगाएपछि चुम्चेत र छेकम्पारतर्फको आवतजावत ठप्प भएको थियो।
यही असोज २५ गते बिहान आएको भीषण बाढीले सर्दिभीरस्थित बूढीगण्डकी–स्यार खोलामाथिको क्यान्टिलिभर पुल बगाएपछि स्थानीयको दैनिक आवतजावतसँगै चुमभ्याली जाने पर्यटकीय पदमार्गसमेत अवरुद्ध भएको हो । पुल बगेसँगै चुमनुब्री गाउँपालिका–६ र ७ का विभिन्न बस्तीबीचको पैदल सम्पर्क प्रभावित भएको छ ।


पुल तत्काल निर्माण गर्न समय लाग्ने भएपछि चुमनुब्री गाउँपालिकाले अस्थायी रूपमा काठे पुल निर्माण गरी पदमार्ग सञ्चालन गर्ने तयारीमा जुटेको छ ।
गाउँपालिका अध्यक्ष निमा लामाका अनुसार सर्दिभीरसहित आवश्यक स्थानमा गरी ४ वटा काठे पुल राखिनेछ । साथै, बाढी तथा पहिरोले क्षति पु¥याएका पदमार्गका विभिन्न भागमा मर्मतको कामसमेत अघि बढाइएको छ ।

गाउँपालिकाका अनुसार आवश्यक ठाउँमा बाटो मर्मतको काम भइरहेको छ । काठे पुल निर्माण सम्पन्न भएपछि छेकम्पारसम्मको पदमार्ग अस्थायी रूपमा जोडिनेछ । पदमार्ग पूर्ण रूपमा सञ्चालनमा आउन करिब १० दिनसम्म लाग्न सक्ने अध्यक्ष लामाले बताएका छन् ।

तर काठे पुललाई दीर्घकालीन समाधानका रूपमा भने हेरिएको छैन । ठूलो वर्षा वा पुनः बाढी आएको अवस्थामा काठे पुलसमेत बग्न सक्ने भएकाले सर्दिभीरमा स्थायी क्यान्टिलिभर पुल निर्माण गर्नुपर्ने आवश्यकता रहेको गाउँपालिकाले जनाएको छ । सुरक्षित र दिगो पदमार्ग निर्माणका लागि कतिपय स्थानमा पहरा फोरेर नयाँ ट्र्याक खोल्नुपर्ने अवस्था रहेको अध्यक्ष लामाको भनाइ छ ।
चुमभ्याली धार्मिक, सांस्कृतिक तथा प्राकृतिक पर्यटनका दृष्टिले महत्वपूर्ण क्षेत्र हो । यहाँ पुग्ने प्रमुख पैदलमार्ग अवरुद्ध हुँदा स्थानीय बासिन्दासँगै पदयात्री, गाइड, भरिया तथा पर्यटन व्यवसायीसमेत प्रभावित भएका छन् । त्यसैले तत्कालका लागि काठे पुलमार्फत आवागमन खुलाउने र दीर्घकालीन रूपमा बाढी प्रतिरोधी संरचना निर्माण गर्ने आवश्यकता देखिएको छ ।

पदमार्ग सञ्चालनका लागि आवश्यक काठ, श्रम तथा अन्य सहयोग उपलब्ध गराउने संघसंस्था, स्थानीयवासी तथा सहयोगी मन भएका व्यक्तिहरूप्रति चुमनुब्री गाउँपालिकाले आभार व्यक्त गरेको छ। गाउँपालिकाले अस्थायी संरचनाबाट आवागमन सहज बनाएसँगै स्थायी पुल निर्माणका लागि सम्बन्धित निकायसँग पहल गर्ने जनाएको छ ।

बाढीले पु¥याएको क्षतिपछि अवरुद्ध बनेको छेकम्पार जाने पदमार्ग पुनः जोडिएसँगै स्थानीयको आवतजावत सहज हुने अपेक्षा गरिएको छ । तर चुमभ्यालीजस्तो दुर्गम तथा पर्यटकीय क्षेत्रलाई वर्षायाममा समेत सुरक्षित रूपमा जोडिराख्न स्थायी पुल र भरपर्दो पदमार्ग निर्माणमा दीर्घकालीन लगानी आवश्यक देखिएको छ ।

Exit mobile version