अर्थ तथा कृषि मुख्य समाचार सबै

बाढीले क्षति पु¥याएका १८ झोलुङ्गे पुल साढे ५ करोड लागतमा मर्मतपछि सञ्चालनमा


काठमाडौं– गएको भदौ १० गते भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीका कारण क्षतिग्रस्त भएका १८ वटा झोलुङ्गे पुलको मर्मत सम्पन्न भई संचालनमा आएका छन् ।

मर्मतपछि सबै पुल पुनः सञ्चालनमा ल्याइएको सस्पेन्सन ब्रिज डिभिजन कार्यालयले जनाएको छ ।स्थानीय पूर्वाधार विकास विभाग अन्तर्गतको सस्पेन्सन ब्रिज डिभिजनका अनुसार त्रिशूली करिडोरमा रहेका ती पुल बाढीका कारण विभिन्न तहमा क्षतिग्रस्त भएका थिए । कार्यालयका अनुसार ११ वटा पुलमा क्षति पुगेको थियो भने सातवटामा सामान्य क्षति भएको बताइएको छ ।
बाढीबाट बढी प्रभावित ११ वटा पुलका लठ्ठा बटारिनुका साथै डेक, बिम र छेउका जालीसमेत बगेका थिए । ती पुलमा बटारिएका लठ्ठा सोझ्याउने, ह्यान्डरेलका केबल फेर्ने, नयाँ स्टिल डेक तथा बिम जडान गर्ने र साइडका जाली पुनः राख्ने कार्य सकिएको छ ।

सामान्य क्षति भएका सातवटा पुलमा भने आवश्यक मर्मतसम्भार गरी सञ्चालनमा ल्याइएको छ । १८ वटै पुलको मर्मतमा ५ करोड ५० लाख रुपैयाँ खर्च भएको कार्यालयले जनाएको छ ।
बृहत् मर्मत गरिएका पुलमा नुवाकोटको बेलकोटगढी–७ र तारकेश्वर–२ जोड्ने पिमलटार जागाराम, बेलकोटगढी–५ र धादिङको गल्छी–१ जोड्ने फोस्रेटार, बेलकोटगढी–८ र विदुर–३ जोड्ने जिलिङ तथा धादिङको सिद्धलेक–३ र बेनीघाट रोराङ–३ जोड्ने पुल रहेका छन् ।
त्यसैगरी, नुवाकोटको बेलकोटगढी–५ स्थित केउरेनी गहते र धादिङको गल्छी–१ जोड्ने पुल, सिद्धलेक–६ र गजुरी–१ जोड्ने पुल, गल्छी–१ र ६ जोड्ने महेशदोभान मास्टार, गल्छी–१ र ४ जोड्ने पुल, गल्छी–२ र ४ जोड्ने शीतलबजार क्युरेनीटार, बेलकोटगढी–५ र धादिङको गल्छी–२ जोड्ने कोल्पु कल्लेरीघाट तथा गोरखाको गण्डकी–७ र धादिङको बेनीघाट रोराङ–७ जोड्ने पुलको पनि बृहत् मर्मत गरिएको छ ।

यसैगरी, सामान्य मर्मत गरिएका पुलमा गोरखाको गण्डकी–८ र धादिङको बेनीघाट रोराङ–५ जोड्ने बादरे, सिद्धलेक–६ र गजुरी–२ जोड्ने बिहानी पम्प, सिद्धलेक–५ र बेनीघाट रोराङ–३ जोड्ने मलेखु, गल्छी–२ र ४ जोड्ने बेल्खु भुतिया, गोरखाको सहिद लखन–४ र चितवनको इच्छाकामना–४ जोड्ने कुरिनटार (लेवाटार), धादिङको गल्छी–२ र ४ जोड्ने महादेवस्थान तथा गोरखाको गण्डकी–६ र चितवनको इच्छाकामना–३ जोड्ने फिस्लिङ झोलुङ्गे पुल रहेका छन् ।
बाढीका कारण आवतजावतमा समस्या भएका स्थानीय बासिन्दालाई पुल पुनः सञ्चालनमा आएपछि सहज भएको छ । मर्मत सम्पन्न भएसँगै त्रिशूली करिडोरका विभिन्न बस्तीबीचको पैदल आवागमन तथा दैनिक गतिविधि थप सहज हुने अपेक्षा गरिएको छ ।

Exit mobile version