काठमाडौं – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले विदुरको भौतिक संरचना मात्रै क्षतिग्रस्त बनाएन, नुवाकोटको प्रमुख व्यापारिक केन्द्रको भविष्यबारे पनि नयाँ बहस सुरु गरिदिएको छ ।
बाढीपछि ढुङ्गे–त्रिशूली बजार जोड्ने पुल निर्माणलाई विदुर नगरपालिकाले पहिलो प्राथमिकतामा राखेको छ । पुल बग्दा नदीपारिका बस्ती, बजार, विद्यालय, अस्पताल र अत्यावश्यक सेवासँगको सम्पर्क प्रभावित भएको थियो । तर पुनर्निर्माणको प्रश्न अब एउटा पुल बनाउनेमा मात्र सीमित छैन ।
नगरपालिकाले विदुरलाई ‘दिगो व्यापारिक केन्द्र’ का रूपमा अघि बढाउने नीति लिएको छ । विदुरको भौगोलिक अवस्थिति पनि यसका लागि महत्वपूर्ण छ । नगरपालिका क्षेत्र त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी हुँदै चीनको केरुङसम्म पुग्ने सडक सञ्जालसँग जोडिएको छ ।
त्यसैले बाढीपछिको पुनर्निर्माणलाई केवल क्षतिग्रस्त संरचना पुनः बनाउने योजनाका रूपमा भन्दा जोखिम कम भएको, व्यवस्थित र व्यापारमुखी नयाँ विदुर निर्माण गर्ने अवसरका रूपमा हेर्नुपर्ने आवाज उठ्न थालेको छ ।
यसका लागि नदी किनारको जोखिमयुक्त बस्ती व्यवस्थापन, सुरक्षित बजार क्षेत्र, मोटरेबल पुल, सडक स्तरोन्नति, सार्वजनिक यातायात, व्यापारिक गोदाम, कृषि उपज संकलन तथा वितरण केन्द्र र आपत्कालीन पूर्वाधारलाई एउटै योजनामा जोड्नुपर्ने देखिन्छ ।
चीनसँगको सहकार्य कहाँ जोडिन्छ
विदुरको सम्भावित आर्थिक पुनर्संरचनाको अर्को महत्वपूर्ण पक्ष नेपाल–चीन व्यापारिक सम्बन्ध हो।
रसुवागढी–केरुङ नाका पुनः सञ्चालन र काठमाडौं–रसुवागढी–केरुङ दीर्घकालीन सडक पूर्वाधार विकासका विषयमा नेपालले चीनसँग सहयोग मागेको छ । चिनियाँ पक्षले रसुवागढी नाकाको पुनर्निर्माण तथा सञ्चालनका लागि विशेष अध्ययन र दीर्घकालीन पूर्वाधार निर्माण आवश्यक रहेको बताउँदै नेपालबाट विशेष प्रस्ताव आए सहयोग र समन्वय गर्ने जनाएको छ ।
यो सञ्जाल प्रभावकारी बनेमा विदुर केवल नुवाकोटको प्रशासनिक केन्द्रमा सीमित नरही काठमाडौं, नुवाकोट, रसुवा र चीनतर्फ जाने व्यापारिक मार्गको बीचमा रहेको क्षेत्रीय आर्थिक केन्द्र बन्ने सम्भावना बलियो हुन सक्छ ।
तर त्यसका लागि सडक र नाका मात्र पर्याप्त हुँदैनन्। उत्पादन, भण्डारण, ढुवानी, बजार, बैंकिङ, पर्यटन र निजी लगानीलाई जोड्ने पूर्वाधार आवश्यक हुन्छ ।
पुनर्निर्माणको अवसर
विदुर नगरपालिकाले त्रिशूली बाढीबाट भएको क्षतिको विस्तृत अध्ययन गरी पुनःस्थापना तथा पुनर्निर्माणका लागि योजना, लागत र प्राथमिकता निर्धारण गर्ने प्रक्रिया अघि बढाएको छ ।
अबको चुनौती भनेको सो अध्ययनलाई दीर्घकालीन आर्थिक योजनासँग जोड्नु हो ।
यदि पुनर्निर्माणको योजना जोखिमयुक्त संरचना पुनः बनाउनेमा मात्र सीमित भयो भने विदुरले अहिलेको समस्या फेरि दोहो¥याउन सक्छ । तर बाढीबाट सिकेर सुरक्षित पूर्वाधार, व्यवस्थित बजार र क्षेत्रीय व्यापारिक सञ्जालसहित नयाँ योजना बनाइयो भने यही विपद् विदुरको आर्थिक पुनर्जन्मको आधार बन्न सक्छ ।
विदुरका लागि प्रश्न अब ‘के भत्कियो?’ मात्र होइन, ‘भत्किएको ठाउँमा कस्तो शहर बनाउने?’ भन्ने हो । यही प्रश्नको उत्तरले बाढीपछिको विदुरको आगामी दशक निर्धारण गर्नेछ ।
प्रतिक्रिया