मुख्य समाचार विचार तथा बहस सबै

दुव्र्यवहार र अपमान खेप्दै नेपालका १० प्रतिशतभन्दा बढी ज्येष्ठ नागरिक

फाइल फोटोः नुवाकोटका जेष्ठ नागरिक

काठमाडौं– महाकालेश्वर मन्दिरभित्र जुत्ता लगाएर गएकै भरमा चितवनमा ७८ वर्षीय शान्तकुमार श्रेष्ठमाथि आक्रमण गरियो । उनीलाई एक व्यक्तिले हेल्मेट प्रहार गरेका थिए । एक जेष्ठनागरिकमाथि भएको यो सामान्य आक्रमण थिएन । उनलाई सम्मान र सुरक्षाको अपेक्षा गर्ने उमेरमा धेरै ज्येष्ठ नागरिकले घरदेखि सार्वजनिक स्थलसम्म भोगिरहेका आक्रमण, अपमान, उपेक्षा र दुव्र्यवहार खेपिरहेका छन् ।


साउन पहिलो साता भरतपुरको महाकालेश्वरमा भएको यो घटना सामाजिक सञ्जालमा फैलियो । भरतपुर–१० महाकालेश्वरमा भक्तजनहरू दीप, धूप र प्रार्थनामा गरिरहेका थिए । साँझको आरती चलिरहेको थियो । त्यही भीडमा एक बालक जुत्ता लगाएर मन्दिरभित्र प्रवेश गर्न खोजे । त्यसैबेला श्रेष्ठले जुत्ता लाएर नजान आग्रह गरे । मन्दिर जान रोकेको भन्दै अर्का २१ वर्षीय शेखर चन्दले वृद्ध श्रेष्ठमाथि हेल्मेटले प्रहार गरेका थिए ।

चितवन प्रहरीले कपिलवस्तुको शिवराज नगरपालिका–९ निवासी २१ वर्षीय शेखर चन्दलाई नियन्त्रणमा लियो । उनीविरुद्ध अभद्रव्यवहारसम्बन्धी कसुरमा मुद्दा दर्ता भई कानुनी प्रक्रिया चलिरहेको छ ।
काठमाडौंको टोखा नगरपालिका–७ धापासी, ग्रीनल्यान्डकी ६५ वर्षीया सावित्री बराल सार्वजनिक यातायात चढ्न नपरोस् भनेर सोच्छिन् । उनीसँग दुव्र्यवहारको नमिठो अनुभव ताजै छ । केही महिनाअघि ग्रीनल्यान्डबाट टोखा झोरमा रहेको एक मन्दिर जाँदा माइक्रो चढेकी थिइन् । माइक्रो कोचाकोच भएको ज्येष्ठ नागरिकले सिटमा बस्न माग गर्दा उल्टै ठूलो स्वरमा अगाडिबाट कराए ट्याक्सीमा जानु नि बुढाबुढी भन्नेले अपशव्द बोले चालकले ।


ज्येष्ठ नागरिकले सार्वजनिक स्थल वा घरमै पनि दुव्र्यवहार खेप्नुपरेको विज्ञहरु बताउँछन् । ज्येष्ठ नागरिकले हरेक स्थानमा अपमान सहनुपरेको ज्येष्ठ नागरिक महासंघकी उपाध्यक्ष शारदा चन्दले सार्वजनिक बस नरोक्ने, राके पनि सिट नदिइने, बुढाबुढी भनेर होच्याइने, चोक र चौतारामा बस्न नदिने जस्ता व्यवहार सामान्यझै बनेका छन् । जेष्ठनागरिकले मौखिक दुव्र्यवहार सबैभन्दा धेरै रहेको चन्दले जनाइन् ।
त्रिवि समाजशास्त्र विभागका उपप्राध्यापक लक्ष्मणप्रसाद शर्माका अनुसार ज्येष्ठ नागरिकप्रति गरिने उपेक्षा, विभेद वा अन्य नकारात्मक व्यवहार आफैंमा गलत र अमानवीय भएको र नैतिकताको कमजोरी, सामाजिक मूल्य मान्यतामा आएको परिवर्तन, आर्थिक प्रणाली, पारिवारिक संरचनामा आएको रूपान्तरण, मानवीय सम्बन्धको बदलिँदो स्वरूप भएको बताए ।


अहिले जेष्ठ नागरिकले दुव्र्यवहार र सामाजिक एक्लोपनका कारण मानसिक स्वास्थ्यमा गम्भीर असर, एन्जाइटी र डिप्रेसनबाट समेत गुज्रनुपर्ने अवस्था आएको विज्ञहरू बताउँछन् ।
वरिष्ठ मनोरोग विशेषज्ञ, प्राध्यापक डा.देवकुमार थापा पारिवारिक सम्बन्ध बलियो हुनपर्नेमा जोड् दिंदै एक्लोपन कसरी हटाउने भनेर बढी ध्यान दिनुपर्ने बताए ।
नेपालमा १० प्रतिशत ज्येष्ठ नागरिकले दुव्र्यवहार भोग्ने गरेका छन् । मौखिक दुव्र्यवहारको हिसाव छैन । शारीरिक हिंसा, खाना र औषधि नदिँदा, उचित स्याहारसुसार नगर्दा जेष्ठनागरिक मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको बताइएको छ ।


राष्ट्रिय ज्येष्ठ नागरिक महासंघका अध्यक्ष सूर्यप्रसाद श्रेष्ठ शिक्षा साथै रोजगारको खोजीमा सन्तान विदेशिन थालेपछि ज्येष्ठ नागरिक एक्लो महसुस गर्न थालेको बताउँछन् । एक्लोपन, हेरचाहको अभाव र असुरक्षाको अवस्थामा अहिले धेरैजना बस्न बाध्य भइरहेका छन् ।
देशमा युवालाई रोजगारी सिर्जना, सामाजिक पूर्वाधारको विकास र परिवारसँग जोडिने वातावरण विकास गर्नुपर्ने विज्ञले जोड दिएका छन् ।


ज्येष्ठ नागरिकमाथि हुने दुव्र्यवहार, अपमान, सम्पत्ति हडप्ने उद्देश्यले झुक्याउने वा आधारभूत अधिकारबाट वञ्चित गर्ने कार्यलाई कानुनले अपराध मानेको छ । यस्ता कुनै पनि कसुर गरेमा त्यसको प्रकृतिअनुसार १० हजारदेखि ५ लाख रुपैयाँसम्म जरिवाना, १ वर्षदेखि ५ वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था छ । ज्येष्ठ नागरिकलाई सार्वजनिक यातायात, स्वास्थ्य सेवा, अदालतलगायतका सेवामा प्राथमिकता र विभिन्न सहुलियतको सहितको कानुनी व्यवस्था छ ।


ईज्जतका डरले पनि ज्येष्ठ नागरिक आफूलाई परेको पीडा खुलेर बताउन नसक्ने विज्ञको भनाई छ । छोराबुहारीबाटै दुव्र्यवहार खेपे वा भएपनि उनीहरु सुरक्षा निकायमा उजुरी गर्न सक्दैनन् ।
संविधानले ज्येष्ठ नागरिकलाई दया वा सहानुभूतिको विषय नभई विशेष संरक्षण पाउने नागरिकका रूपमा स्वीकार गरेको छ । जीवनभर राष्ट्र र समाजका लागि गरेको योगदानको कदर गर्दै जेष्ठनागरिकको सामाजिक सुरक्षा, संरक्षण र सम्मान सुनिश्चित गर्नु राज्यको संवैधानिक दायित्व भएपनि ज्येष्ठ नागरिकको सम्मान गर्नु भविष्यमा आफ्नै सम्मानको आधार निर्माण गर्नु रहेको विज्ञको भनाई छ ।
आलेखः आरती पौडेल

Exit mobile version