काठमाडौं— बडादशैँ नजिकिएसँगै काठमाडौं उपत्यकाका प्रमुख व्यापारिक क्षेत्रमा किनमेल गर्ने उपभोक्ताको चहलपहल बढेको छ । नयाँ लुगा, जुत्ता, खाद्यान्न, घरायसी सामग्री, मासु तथा उपहारका सामान खरिद गर्न उपभोक्ता बजार पुग्न थालेका छन् । तर, बाढीपहिरोका कारण आपूर्ति प्रभावित हुनु, ढुवानी खर्च बढ्नु र दैनिक उपभोग्य वस्तुको मूल्य महँगिनुले यस वर्षको दशैँ किनमेल उपभोक्ताका लागि महँगो बनेको छ ।
न्यूरोड, असन, इन्द्रचोक, नयाँ बानेश्वर, सुन्धारा र भृकुटीमण्डपलगायत क्षेत्रमा दशैँलक्षित व्यापारिक गतिविधि बढेको छ । बजारमा कपडा, जुत्ता, चप्पल, झोला र बालबालिकाका सामग्री खरिद गर्ने ग्राहक देखिएका छन् । तर मूल्य बढेकाले उपभोक्ताले सोचेजति सामान किन्न नसकेको व्यवसायीहरूको भनाइ छ । अनलाइन तथा सामाजिक सञ्जालमार्फत हुने बिक्रीले पनि चाडपर्वको बजारलाई नयाँ स्वरूप दिएको छ ।
महँगीले बढायो उपभोक्ताको खर्च
यस वर्ष खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको मूल्यमा वृद्धि देखिएको छ । केही संचारमाध्यममा आए अनुसार पछिल्लो डेढ महिनामै खाद्यान्नको मूल्य प्रतिकिलो ५ देखि ३० रुपैयाँसम्म बढेको छ ।
त्यसैगरी टाइचिन चिउराको मूल्य प्रतिकिलो १९० रुपैयाँबाट २०० रुपैयाँ पुगेको छ । रहर दालको मूल्य २२० रुपैयाँबाट २३० रुपैयाँ र चामलको मूल्य केही प्रकारमा ९०–१०० रुपैयाँबाट १२० रुपैयाँसम्म पुगेको छ ।
त्यसैगरी, खसीको मासुको मूल्य गत वर्षको दशैँमा प्रतिकिलो १ हजार ३०० देखि १ हजार ४०० रुपैयाँ रहेकामा यस वर्ष १ हजार ६०० देखि १ हजार ७०० रुपैयाँसम्म पुगेको छ ।
मूल्यवृद्धिका कारण सीमित आम्दानी भएका परिवारले दशैँका लागि छुट्याएको बजेट बढाउनुपर्ने वा किनमेलमा कटौती गर्नुपर्ने अवस्था देखिएको छ ।
सडक अवरोधले व्यापारमा पनि असर
यो वर्षको दशैँ बजारमा बाढीपहिरो र सडक अवरोधको प्रभाव पनि देखिएको छ । रसुवा, मुस्ताङ लगायत उत्तरी सीमा नाकातर्फका सडक तथा पुलमा क्षति पुग्दा चीनबाट आयात हुने सामानको आपूर्ति प्रभावित भएको छ । ढुवानी लागत बढेपछि बजारमा पुगेका कतिपय सामानको मूल्यसमेत बढेको व्यवसायीहरूले बताएका छन् ।
केही ठूला सपिङ महल नयाँ बानेश्वर र न्यूरोडका व्यापारीले ग्राहकले मूल्य सोधेर फर्किने ग्राहक धेरै भएको बताएका छन् । कतिपय व्यापारीले नयाँ सामान समयमै नआएको र पुरानै मौज्दात बिक्री गर्नुपरेको बताएका थिए ।
मासुको बजारमा पनि चाप
दशैँमा मासुको माग उच्च हुने भएकाले काठमाडौं उपत्यकामा खसीबोकाको कारोबार पनि ठूलो हुने गरेको छ । उपत्यकामा दशैँको दुई सातामा सामान्यतया ८० हजारदेखि एक लाखसम्म जिउँदा खसीबोका खपत हुने गरेको छ ।
तर यस वर्ष आपूर्ति र ढुवानीमा देखिएका समस्याले बजारमा खसीबोकाको उपलब्धता तथा मूल्यमा बढेको व्यवसायीहरूले जनाएका छन् । मूल्य बढ्दा उपभोक्ताले पहिलेभन्दा कम परिमाणमा मासु खरिद गर्ने सम्भावना पनि छ ।
प्रतिक्रिया