July 29, 2026
अर्थ तथा कृषि सबै समाचार

तारकेश्वर नगरपालिकाको १९औँ नगरसभाव्दारा १ अर्ब ९६ करोड बजेट पारित

काठमाडौं–तारकेश्वर नगरपालिकाको १९औँ नगरसभा सम्पन्न भएको छ ।

शनिबार नगर प्रमुख कृष्णहरि महर्जनको अध्यक्षतामा भएको नगरसभाले आर्थिक वर्ष २०८३÷०८४ का लागि कुल रकम १ अर्ब ९६ करोड १६ लाख ८३ हजार रुपैयाँ बराबरको बजेट पारित गरेको छ ।
उक्त बजेट नगरसभाले सम्पूर्ण कार्यसूचीमाथि छलफल गरी सर्वसम्मत रूपमा पारित गरी स्वीकृत गरिएको छ ।


नगरसभाले आब २०८३÷०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम, आय–व्यय सहितको बजेट तथा कार्यक्रम, अर्थ विधेयक, विनियोजन विधेयक, लेखा समितिको प्रतिवेदन, न्यायिक समितिको प्रतिवेदन तथा विभिन्न विधेयकहरू पारित गरेको छ । साथै, तारकेश्वर नगरपालिकाको सुशासन (व्यवस्थापन तथा सञ्चालन) गर्न बनेको विधेयक, २०८३, कार्यसञ्चालन निर्देशिका, २०८३ तथा नगर विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७६ मा संशोधन सम्बन्धी विधेयक समेत स्वीकृत गर्दै पारित भएका छन् ।


उक्त बजेट नगरले निर्धारण गरेको प्राथमिकता क्षेत्रहरूको आधारमा कार्यान्वयन गरिने भएको छ ।
आगामी आर्थिक वर्षका प्रमुख प्राथमिकताहरूमा आधारभूत खानेपानी तथा सरसफाइको सुनिश्चितता, दिगो र फराकिलो कर आधारसहित आत्मनिर्भरता प्रवद्र्धन, सुशासन तथा संस्थागत सुदृढीकरण, गुणस्तरीय शिक्षा, स्वास्थ्य, खेलकुद तथा मानव संसाधन विकास, कृषि तथा उद्यमशीलता प्रवद्र्धन, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन, पर्यटन तथा सांस्कृतिक सम्पदा संरक्षण, सामाजिक सुरक्षा तथा समावेशीकरण, सूचना प्रविधिमैत्री सेवा प्रवाह तथा गुणस्तरीय वातावरणमैत्री पूर्वाधार निर्माण लगायतका छन ।


नगरसभाले पारित गरेका नीति, कार्यक्रम तथा बजेटले नगरवासीको जीवनस्तर उकास्न, सुशासन प्रवद्र्धनसँगै सेवा प्रवाहलाई प्रभावकारी बनाउन तथा समुन्नत, समावेशी र दिगो विकासको लक्ष्य हासिल गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको तारकेश्वर नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया