काठमाडौं– उत्तरी छिमेकी मुलुक चीनले नेपालमा प्रशस्त भारतीय लगानी आएको भनिएपनि त्यो प्रभावकारी नहुने गरेको संकेत गरेको छ । चीनको सिचुवान प्रान्तस्थित सिचुवान विश्वविद्यालयका अन्तर्राष्ट्रिय मामिलाका प्राध्यापक दाई योङहोङले चीनले नेपालमा राजनीतिक स्थायित्व र समृद्धि भएको हेर्न चाहेको भन्दै त्यसका लागि सहकार्य गर्न चीन सरकार इच्छुक रहेको बताएका छन् ।
भारतले नेपालमा लगानीको लागि सम्झौता गरेपनि कतिपय आयोजना होल्ड गरेर राखेको भन्दै त्यसमा चीन भने इमान्दार रहेको बताए । ‘नेपालले निर्वाचनपछि स्थिर सरकार पाउनेपनि उनको विश्वास रहेको छ । विगतमा जस्तो एक वर्ष पनि पूरा नभई अब सरकार बदलिने अवस्थाको अन्त्य चीनले चाहना हो, छ’ प्राध्यापक योङहोङले विश्वविद्यालयमा पुगेका नेपाली पत्रकारको टोलीसँग भने, ‘चीन नेपालको समृद्धि भएको हेर्न चाहन्छ र त्यसको लागि सघाउन तयार छ ।’
चीनले जनाएको कुनैपनि प्रतिबद्धता पूरा गरेरै छाड्ने भन्दै उनले चिनियाँ रेल काठमाडौंसम्म पुर्याउन पनि काम सुरु भइसकेको बताए । ‘ल्हासा– सिगात्से– काठमाडौं रेलमार्ग निर्माणका लागि चीनको तर्फबाट प्रारम्भिक चरणमा काम सुरु भइसकेको छ । बिस्तारै यो काम अघि बढिसकेको योङहाङले भने, ‘बेल्ट एण्ड रोड परियोजनाअन्तर्गत चिनियाँ रेल सिगात्सेसम्म पुगिसकेको छ ।
अब काठमाडौं पनि धेरै टाढा छैन ।’ यसो त चीन भ्रमणमा क्रममा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षीबीच बेइजिङमा यसबारे विस्तृत समझदारीपत्रमा हस्ताक्षर समेत भएको थियो ।
चीनले काठमाडौंसम्म रेलमार्ग निर्माणमा नेपाललाई सघाउने र रेलमार्ग लुम्बिनीसम्म विस्तार गरिने प्रस्ताव अघि सारेकै बेला तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा भारतीय पक्षले पनि रक्सौल–काठमाडौं रेलमार्ग निर्माण गर्ने घोषणा गरेको थियो । चीनले नेपालमा रेलमार्ग निर्माण गर्ने घोषणा गरेसँगै भारतले पनि काउन्टरस्वरुप घोषणा गरेको कतिपयले टिप्पणी गर्छन् ।
सिचुवान विश्वविद्यालयका प्राध्यापक योङहाङको भनाईमा पनि यस्तै भाव प्रष्टिन्छ । चीनले सम्झौता गरेका काम पूरा गरेरै छाड्ने दाबीसहित उनी भन्छन्, ‘भारतले परियोजना निर्माणमा सम्झौता गरेर होल्ड मात्रै गर्ने गरेको देखिन्छ । यसबाटै कसको रेल काठमाडौं चाँडो पुग्छ भन्ने प्रष्टिन्छ । ’
हुन पनि भारतले ठूला परियोजना निर्माण सम्झौता गरेपनि अधिकांश निर्माण समयमा भएका छैनन् भने कति सुरु समेत नगरि होल्ड गरेर राखिएको अवस्था छ । पन्चेश्वर परियोजना, हुलाकी राजमार्ग,
भूकम्पको पुनःनिर्माणमा आएको प्रतिबद्धता यसका जल्दोबल्दो उदाहरण हुन् ।
चीनले आफ्नो महत्वकांक्षी बेल्ट एण्ड रोड इनिटिएटिभ (बीआरआई) मा जोड दिँदै आएको र यसका लागि चिनियाँ रेल सिगात्सेसम्म आइपुगिसकेको छ । ‘इकोनोमिक बेल्ट’को रुपमा चीनले बीआरआईलाई समग्र एसिया र युरोपसम्म जोड्ने प्रस्ताव अघि सार्दै आएको छ । यद्यपि, पश्चिमा देशहरुले असहमति जनाउँदै आएका छन् ।
‘नेपाल भू–परिवेष्ठित भूलूक नभई एक हिराको टुक्रा’ भएको भन्ने चिनियाँ अभिव्यक्तिले पनि नेपालको बीआरआईबाट पनि फाइदा लिन सक्छ भन्ने प्रष्ट हुन्छ । योङहाङ भन्छन्, ‘व्यापारका साथै बहुउपयोगी रहेको बिआरआई नेपालको आर्थिक समृद्धिमा एउटा कोषेढुँगा हुनसक्छ । नेपाल भूपरिवेष्ठित देश नभई एउटा सुनको टुक्रा हो ।’ नेपालको आर्थिक समृद्धिको पर्याप्त सम्भावना रहेको भन्दै उनले यसका लागि मात्रै बलियो सरकार र भिजन आवश्यक रहेको उनको भनाई थियो ।
चिनियाँ कम्युनिष्ट पार्टीको तिब्बत मामिला हेर्ने चाईले पनि नेपालको विकास र समृद्धिमा चीन हातेमालो गर्न तयार रहेको भन्दै काठमाडौंसम्म रेलमार्ग लैजानको लागि हालैमात्रै प्रारम्भिक सर्वेक्षण गरिसकिएको बताए । विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको चीनको चाहना छिमेकमा पनि आर्थिक समृद्धि र स्थायित्व होस् भन्ने रहेको उनको भनाई थियो ।
साभारः ग्रेटर टिभी
प्रतिक्रिया