मुख्य समाचार राजनीति सबै

कांग्रेस महाधिवेशन– थापा पक्ष र देउवा पक्ष ः अब पार्टीको दिशा कता ?

काठमाडौंं–नेपाली कांग्रेसको १५औँ महाधिवेशन नेतृत्व चयनमा केन्द्रित भए पनि यसपटकको महाधिवेशनले पार्टीको आगामी राजनीतिक दिशा र एकताको प्रश्नलाई समेत निर्णायक मोडमा पु¥याएको छ ।

सभापति गगन थापा नेतृत्वको पक्षले काठमाडौंमा १५औँ महाधिवेशन अघि बढाइरहँदा पूर्वसभापति शेरबहादुर देउवा पक्ष भने यस प्रक्रियाबाट अलग रहेर छुट्टै महाधिवेशनको तयारीमा छ । यही कारण कांग्रेसभित्रको पुरानो गुटगत प्रतिस्पर्धा अहिले संस्थागत विवादकै रूपमा देखिएको छ ।

गगन थापा पक्षले आफ्नो नेतृत्वलाई पार्टीको वैधानिक संरचनाबाट अघि बढेको दाबी गर्दै नियमित महाधिवेशनमार्फत पार्टीलाई नयाँ ऊर्जा र नयाँ पुस्ताको नेतृत्वमा अघि बढाउने बताउँदै आएका छन् । थापा पक्षले कांग्रेसलाई परम्परागत राजनीतिक दलको सीमाभन्दा बाहिर निकाल्दै संगठनमा सुधार, डिजिटल प्रणाली, पुस्तान्तरण र आन्तरिक लोकतन्त्रलाई प्राथमिकता दिने संकेत गरेका छन् ।
थापा नेतृत्वले पार्टीमा नेतृत्वको कार्यकाल सीमित गर्ने र नयाँ पुस्तालाई नेतृत्वमा अवसर दिने विषयलाई समेत जोड दिएको छ । युवा पुस्तामा कांग्रेसप्रतिको आकर्षण बढाउने र बदलिँदो राजनीतिक परिस्थितिअनुसार पार्टीको भूमिका पुनःपरिभाषित गर्ने कांग्रेसको दाबी छ ।

तर उता देउवा पक्षले भने थापा नेतृत्वमा भएको विशेष महाधिवेशन र त्यसपछि अघि बढाइएको प्रक्रियामाथि नै प्रश्न उठाउँदै आएको छ । देउवा पक्षले आफ्नो छुट्टै संगठनात्मक प्रक्रिया अघि बढाउँदै आगामी मंसिरमा अर्को महाधिवेशन गर्ने घोषणा गरिसकेको छ ।

यसले कांग्रेसभित्र अहिले एउटा महत्वपूर्ण प्रश्न खडा गरेको छ—कांग्रेसको आधिकारिक नेतृत्व कसको हुने र पार्टीको संगठनात्मक भविष्य कुन दिशातर्फ जाने ?
महाधिवेशनमा नेतृत्वको प्रतिस्पर्धासँगै विचारधाराको बहस पनि सतहमा आएको छ । कांग्रेसले आफ्नो पुरानो लोकतान्त्रिक समाजवादको आधारलाई कसरी नयाँ पुस्ताको अपेक्षासँग जोड्ने भन्ने प्रश्न उत्तिकै महत्वपूर्ण बनेको छ ।

थापा पक्षले परम्परागत राजनीतिक मूल्य र मान्यतालाई कायम राख्दै त्यसलाई समयअनुकूल परिवर्तन गर्नुपर्नेमा जोड दिँदै आएका छन् । देउवा पक्ष भने कांग्रेसको मूल राजनीतिक पहिचान र बीपी कोइरालाको लोकतान्त्रिक समाजवादलाई कमजोर बनाउन नहुने तर्क दिन्छन् ।
त्यसैगरी धर्मनिरपेक्षता र सनातन धार्मिक पहिचानको बहसले पनि कांग्रेसभित्र नयाँ मतभेद जन्माएको छ । यसले आगामी दिनमा कांग्रेसले आफ्नो वैचारिक पहिचानलाई कसरी परिभाषित गर्छ भन्ने प्रश्न थप पेचिलो बन्दै गएको छ ।

उता, देउवा पक्षबाट केही प्रभावशाली नेताहरू थापा नेतृत्वको प्रक्रियामा सहभागी भइसकेका छन् भने केही वरिष्ठ नेताहरू दुवै पक्षबाट समदूरीमा देखिएका छन् । यसले कांग्रेसभित्र पुरानो शक्ति समीकरण परिवर्तन भइरहेको संकेत समेत गरेको छ ।

अबको कांग्रेसका लागि सबैभन्दा ठूलो चुनौती भनेको नेतृत्व चयनपछि पार्टीलाई एकताबद्ध बनाउनु हो । महाधिवेशनबाट नयाँ नेतृत्व चयन भए पनि देउवा पक्षले समानान्तर महाधिवेशन अघि बढाएमा पार्टीभित्रको विवाद तत्काल अन्त्य हुने सम्भावना भने कमजोर देखिन्छ ।

त्यसमाथि कांग्रेसको नेतृत्व विवादसँग जोडिएको कानुनी प्रश्नसमेत अझै पूर्ण रूपमा टुंगिएको छैन । सर्वोच्च अदालतमा यससम्बन्धी पुनरावलोकनको विषय विचाराधीन रहेकाले आगामी दिनमा आउने कानुनी निर्णयले पनि कांग्रेसको राजनीतिक र संगठनात्मक अवस्थालाई प्रभावित गर्न सक्ने देखिएको छ ।


कांग्रेसका लागि यो महाधिवेशन केवल सभापति र पदाधिकारी चयन गर्ने अवसर मात्र होइन, पार्टीको भविष्य निर्धारण गर्ने परीक्षा पनि हो । नयाँ नेतृत्वले पुस्तान्तरण र संगठन सुधारलाई व्यवहारमा उतार्न सक्छ कि सक्दैन, पुरानो नेतृत्वसँगको विवाद समाधान गर्न सक्छ कि सक्दैन र कांग्रेसलाई फेरि जनतासँग जोड्न सक्छ कि सक्दैन भन्ने विषय अबको मुख्य चुनौती बनेको छ ।

अन्ततः प्रश्न एउटै छ—कांग्रेसमा नेतृत्व मात्र परिवर्तन हुन्छ, कि पार्टीको राजनीतिक शैली र दिशा नै परिवर्तन हुन्छ ? यसको जवाफ महाधिवेशनपछि देखिने संगठनात्मक संरचना, नेतृत्वको कार्यशैली र दुवै पक्षबीचको सम्बन्धले दिनेछ ।

Exit mobile version