काठमाडौं – प्रत्येक १२,१२ वर्षमा पशुपति क्षेत्रमा रहेको जयवागेश्वरीको कलेवर फेर्ने काम भइरहेको छ ।
जयवागेश्वरी, गणेश र भैरवको माटाको नयाँ मूर्ति बनाउने काम पनि जारी छ । मन्दिरको कलेवर फेर्ने काम यही बैशाख दोस्रो साताको अन्तिममा सहिने बताइएको छ । जयवागेश्वरीमा टाउको नकाटिएको गणेशभगवानको मूर्ति छ । यो मूर्तिमा हात्तीको जस्तो सुँढ छैन । जयबागेश्वरीको मन्दिर निर्माण कलिगत संवत् ३२३२ मा सुरु भएर (४७ वर्षपछि) ३२७४ मा सम्पन्न भएको इतिहासमा उल्लेख छ ।
१९९० सालमा आएको भूकम्पले क्षति पुगेपछि जीर्णोद्वार गरिएको थियो भने २०७२ वैशाख १२ को भूकम्पले पनि क्षति पुर्याएपछि मन्दिर पुनःनिर्माण गरिएको थियो ।
जयवागेश्वरीलाई महाकाली, महासरस्वती र महालक्ष्मी देवीका रुपमा पूजिदै आएको छ भने मुख्यतया देवी सरस्वती रुपमा बढी पुज्ने किवदन्तीमा उल्लेख छ ।
तन्त्र साधना गर्ने साधकले जयवागेश्वरी मन्दिरमा पूजा गरेपछि सिद्ध हुने जनविश्वास तथा परम्परा रहेको छ । यहाँ सुन्धाराको अस्तित्व लोप हुने अवस्थामा छ । मन्दिरको ठीक अगाडि तलेजु भवानीको मन्दिर रहेको छ ।
जयवागेश्वरी मन्दिर रहेको स्थान काठमाडौ उपत्यकाको पुरानो राजधानी रहेको ईतिहासमा उल्लेख छ ।
प्रतिक्रिया