काठमाडौं–काठमाडौं उपत्यकाको प्रमुख सांस्कृतिक पर्व इन्द्रजात्रा धार्मिक आस्था, कृषि संस्कृति, मृतकको स्मरण र काठमाडौंको राजकीय इतिहाससँग जोडिएको जात्रा हो ।
नेपाल भाषामा ‘येंया’ भनिने यो पर्व विशेषगरी स्वर्गका राजा देवराज इन्द्रको पूजा, वर्षा र समृद्धिको कामनासँग सम्बन्धित छ ।
प्रचलित किवदन्ती अनुसार इन्द्रकी आमा वसुन्धरालाई पूजा वा व्रतका लागि पारिजात फूल आवश्यक परेपछि इन्द्र मानिसको भेषमा धर्ती काठमाडौं आए । मरु क्षेत्रको बगैंचामा पारिजात टिपिरहेको अवस्थामा स्थानीयले देखे । उनलाई फूल चोर्न आएको चोर ठानेर समाते । अनि सार्वजनिक स्थानमा उनलाई बाँधेर राखे । फूल टिप्न गएको छोरो नफर्केपछि इन्द्रकी आमा छोरो खोज्दै पृथ्वीमा आइन् । पछि उनी देवराज इन्द्र नै भएको थाहा भए । स्थानीयले चाहेको कुरा दिने बचन दिएपछि आमाले उनलाई छुटाएर लगिन् ।
इन्द्रलाई मुक्त गराएपछि काठमाडौंवासीलाई वर्षा, अन्नबाली र मृत आफन्तको कल्याणका लागि आशीर्वाद दिए । यही कथाको स्मरणमा इन्द्रजात्राका विभिन्न संस्कार र पूजा हुँदै आएका छन्।
जात्राको सुरुवातमा काठमाडौंको हनुमानढोका दरबारअगाडि यःसिँ अर्थात् इन्द्रध्वज लिंगो ठड्याइन्छ । आठ दिनसम्म चल्ने जात्रामा इन्द्रको पूजा, लाखे तथा पुलुकिसी नाच, श्वेत भैरवको प्रदर्शन र कुमारी, गणेश तथा भैरवको रथयात्रालगायत विभिन्न सांस्कृतिक गतिविधि हुन्छन ्। दिवंगत आफन्तको सम्झना गर्ने परम्परा पनि इन्द्रजात्राको महत्वपूर्ण पक्ष हो ।
इन्द्रजात्रासँग काठमाडौंको राजकीय इतिहास पनि गहिरोसँग जोडिएको छ। मल्लकालमा कुमारीलाई राज्यकी जीवित देवीका रूपमा उच्च स्थान दिइएपछि कुमारीको रथयात्रा राजकीय संस्कारसँग जोडिएको थियो। राजा स्वयं जात्रामा सहभागी भई कुमारीको आशीर्वाद तथा टीका ग्रहण गर्ने परम्परा थियो।
इन्द्रजात्राकै दिन नेपालको राजनीतिक इतिहासमा महत्वपूर्ण घटना पनि भएको थियो। विक्रम संम्वत् १८२५ साल इन्द्रजात्राका दिन पृथ्वीनारायण शाहले काठमाडौंमाथि विजय हासिल गरेका थिए । त्यसबेला काठमाडौंका मल्ल राजा जयप्रकाश मल्ल इन्द्रजात्रामा सहभागी भइरहेका थिए । काठमाडौं विजयपछि पृथ्वीनारायण शाहले पनि कुमारी परम्परालाई निरन्तरता दिँदै कुमारीको आशीर्वाद लिएका थिए ।
नेपालमा राजतन्त्र अन्त्य भई विसं २०६५ साल जेठ १५ गते गणतन्त्र स्थापना भएपछि राजाको हैसियतमा इन्द्रजात्रामा सहभागी हुने परम्परा तोडियो । त्यसपछि राष्ट्रप्रमुखको हैसियतको रूपमा राष्ट्रपतिले कुमारीको दर्शन तथा टीका ग्रहण गर्ने थालियो ।
शुक्रबार इन्द्रजात्रा पर्व मनाइएको छ । हरेक वर्ष भाद्रशुक्ल चतुर्दशीका दिन इन्द्रजात्रा पर्व मनाइन्छ । इन्द्रजात्रामा विहिबार राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, मन्त्रीहरूलगायत विभिन्न विशिष्ट अतिथिहरू वसन्तपुर पुगेर इन्द्रजात्राको अवलोकन गरेका थिए ।
