धर्म, संस्कृति, साहित्य सबै समाचार

इन्द्रजात्राको काठमाडौको वसन्तपुर दरबार परिसरमा तयारी

काठमाडौं–काठमाडौं उपत्यकाभित्रको मुख्य पर्वको रुपमा वसन्तपुर दरबार परिसरमा इन्द्रजात्राको तयारी भइरहेको छ ।

प्रत्येक बर्ष हुने यस जात्राका लागि रथ निर्माण, सरसफाइ लगायतका काम भइरहेको छ । दरबार परिसरमा रहेका काष्ठमण्डप, कुमारी घर, शिवपार्वती मन्दिर लगायत सम्पदामा रङरोगन गरी रातो ध्वजापतकाहरु फेर्ने काम भइरहेको छ ।

भोटाहिटी जाने सडकमा विधिपूर्वक पूजा गरेर राखिएको इन्द्रध्वजाको लिंगोलाई ढोग्दै एक बालक । तस्बिरः एजेन्सी

उपत्यकाको नेवार समुदायले मनाउने यो पर्व काठमाडौं, ललितपुर, भक्तपुर, काभे्रको धुलिखेल, दोलखा लगायत स्थानमा मनाइन्छ । यस जात्रामा विधिपूर्वक पूजा गरी ल्याइएको सल्लाको लिंगो भोटाहिटी जाने सडकको बीच सडकमा केही दिन राखेर पूजा गरी हनुमानढोकास्थित बसन्तपुरमा ठड्याइन्छ । यसरी ठड्याइएको लिंगोलाई ‘इन्द्रध्वजोत्थान’ भनिन्छ ।

लिंगोको फेदमा भैरवको पूजा गरिन्छ । शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रुपमा इन्द्रजात्रा मनाउने गरिएको बताइन्छ इन्द्रध्वजको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रुपमा समेत इन्द्रजात्रालाई लिइन्छ ।
इन्द्रजात्रा पर्वमा राष्ट्रपतिबाट हनुमानढोकास्थित गद्दी बैठकमा जीवित देवीका रूपमा कुमारी, गणेश र भैरवको रथयात्रा हेर्ने गरिन्छ । राजाको शासनमा राजा सहित उनका परिवारले यो जात्रा नजर गर्ने परम्परा रहिआएको थियो । इन्द्रध्वजाको लिङ्गो ठड्याएपछि जात्राभरि भक्कुनाच, महाकालीनाच, लाखेनाच, दशअवतार नाच तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीक पुलुकिसी नाच नचाउने गरिन्छ ।

इन्द्रध्वजाको लिंगो ठड्याएको आठौं दिनपछि अर्थात् आश्विन कृष्ण चौथीका दिन इन्द्रध्वज पातन अर्थात ढाल्ने चलन छ ।

Exit mobile version