May 30, 2026
मुख्य समाचार सबै

अमेरिका–इरानबीच ४६ वर्षपछि उच्चस्तरीय इस्लामावाद शान्तिवार्ता सुरु

काठमाडौं–अमेरिका र इरानबीच शान्तिवार्ता सुरु भएको छ ।

शनिबार राजधानी इस्लामावादमा पाकिस्तानको मध्यस्थकर्तामा उक्त वार्ता सुरु भएको हो । शनिबार दिउँसो ४ बजेदेखि तीनै देशका वार्ताकारहरु वार्तामा जुटेका छन् । त्यसको पुष्टि पाकिस्तानको प्रधानमन्त्री कार्यालय र अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

वार्ता इस्लामावादस्थित सेरेनामा होटलमा भइरहेको छ । अलजजिराले सन् १९७९ को इरानी इस्लामिक क्रान्तिपछि वासिङ्गटन र तेहरानबीचको पहिलो उच्चस्तरीय वार्ता भनेको छ ।
अमेरिकाकातर्फबाट वार्ताको संयोजन उपराष्ट्रपति जेडी भान्सले गरिरहेका छन् । उनीसँगै राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफ र ट्रम्पका ज्वाइँ जारेड कुसनरसहितको प्रतिनिधिमण्डल वार्तामा सहभागी छन् ।

इरानकातर्फबाट संसद्का सभामुख मोहम्मद बगेर गालीबाफले वार्ता टोलीको नेतृत्व गरेका छन् । जसमा विदेशमन्त्री अब्बास अरागची सामेल छन् ।
वार्ता अघि पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले अमेरिकी र इरानी प्रतिनिधिमण्डलसँग छुट्टाछुट्टै संवाद गरेका थिए ।
वार्तामा कुनकुन विषयमा छलफल भएको हो भन्ने बारेमा वार्ता टोली, पाकिस्तान सरकारले खुलाएका छैनन् ।

प्रतिक्रिया