काठमाडौं—नेपालमा बिहीबारदेखि भारी वर्षाको सम्भावना देखिएको छ ।
बंगालको खाडी तथा अण्डमान सागर आसपास विकसित भइरहेको न्यूनचापीय प्रणाली बलियो बन्दै गएपछि पश्चिम–उत्तरपश्चिमतर्फ सर्ने क्रममा रहेकाले यही असोज ८ देखि १२ गतेसम्म अर्थात इस्वी सन् २०२६ सेप्टेम्बर २४–२८ तारिखमा विभिन्न भूभागमा भारी वर्षा हुन सक्ने मौसमविद्हरूले जनाएका छन् ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव अद्यपी रहेको छ ।
मनसुनको न्यूनचापीय रेखा औसत अवस्थाभन्दा दक्षिणतर्फ रहे पनि बंगालको खाडीमा विकास भइरहेको नयाँ मौसमी प्रणालीका कारण आगामी दिनमा वर्षाको गतिविधि बढ्ने सम्भावना रहेको छ ।
असोज ९ र १० गते वर्षाको बढी सक्रिय हुने सम्भावना
मौसमविद्हरूका अनुसार पश्चिम र मध्य नेपालमा वर्षाको प्रभाव बढी पर्न सक्ने देखिएको बताइए पनि अहिले नै कुन जिल्लामा कति वर्षा हुन्छ भनेर ठ्याक्कै निर्धारण गर्न नसकिने बताएका छन् ।
त्रिविका जल तथा मौसमविद् डा. विनोद पोखरेलले विभिन्न मौसम पूर्वानुमानको नमूना विश्लेषणबाट आगामी ५ दिनमा नेपालका केही स्थानमा ४०० मिलिमिटरभन्दा बढी वर्षा देखाएको र केहीमा ७४१ मिलिमिटरसम्मको वर्षा देखिए जनाएका छन् ।
मौसमविद्हरूले शुक्रबार र शनिबार अर्थात् असोज ९ र १० गते आसपास वर्षाको जोखिम तुलनात्मक रूपमा बढी हुनसक्ने बताएका छन् । ती दिनहरुमा बाढी र पहिरोको जोखिमप्रति सचेत रहन सबैमा आग्रह गरिएको छ भने पाकेका बाली वर्षा अगावै भित्र्याउन किसानहरुलाई भनिएको छ ।
प्रतिक्रिया