काठमाडौं–रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी त्रिशूली नदी हुँदै नुवाकोट, धादिङलगायतका क्षेत्रमा पुगेको मंगलबार छैटौं दिन पनि खोज, उद्धार र राहतको काम जारी छ ।
भदौ १० गते आएको बाढीले ठूलो जनधनको क्षति पु¥याएको छ । पछिल्लो तथ्यांक अनुसार भोटेकोशी र त्रिशूली नदीमा अहिले पानीको बहाव तत्काल चेतावनी तहभन्दा तल झरेको छ ।
यद्यपि तिब्बततर्फ बनेको अस्थायी ताल तथा मौसममा हुन सक्ने परिवर्तनका कारण नदी आसपासका बस्तीमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।
बाढीपछि रसुवा, नुवाकोट, धादिङ हुँदै त्रिशूली र नारायणी नदी किनारसम्म खोज तथा उद्धारको काम विस्तार गरिएको छ । बाढीमा हराइरहेकाको खोजी विभिन्न जिल्लामा शव भेटिने क्रम पनि जारी छ ।
पछिल्लो सार्वजनिक विवरणमा बाढी र पहिरोका कारण ९८७ जनाको मृत्यु भएको र ३ हजार ९१६ जना अझै सम्पर्कविहीन रहेको छ ।
केहीले वितेका आफन्तले आफ्नो रित अनुसार कुसको दाहसंस्कार गरेर काजक्रिया थालेका छन् ।
सुरुङमा खोजी तीव्र
बाढीबाट प्रभावित जलविद्युत् आयोजनाका क्षेत्रमा खोज तथा उद्धारलाई अहिले विशेष प्राथमिकता दिइएको छ । रसुवा–नुवाकोटसिमाको त्रिशूली–३ ‘ए’ लगायतका आयोजनाका सुरुङमा फसेका तथा सम्पर्कविहीन व्यक्तिको खोजी कार्य सुरक्षा निकायले गरिरहेका छन् । त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङको प्रवेशद्वार पत्ता लगाउने प्रयास भइरहेको छ । त्यस्तै अन्य जलविद्युत् आयोजनाका सुरुङभित्र फसेका कामदारको अवस्थाबारे खोजी भइरहेको छ ।
बाढीका कारण रसुवा हुँदै तिब्बततर्फ जाने क्रममा रहेका विदेशी पर्यटक तथा अन्य विदेशी नागरिकसमेत प्रभावित भएका छन् । केहीको उद्धार भइसके पनि अझै ठूलो संख्यामा विदेशी नागरिक सम्पर्कविहीन छन् । कतिपय बाढीबाट बच्न सफल भएकालाई खाद्यँन्न, लताकपडा र वासको व्यवस्था लगायतका राहतका काम पनि भैरहेको छ । त्रिशूली नदीमाथि सिम्बुटारमा तुइन हालिएको छ । पर्यटनसम्बन्धी निकायले प्रभावित क्षेत्रमा तत्काल यात्रा नगर्न तथा जोखिमयुक्त नदी किनार र सडकबाट टाढा रहन आग्रह गरेको छ ।
बाढीको तत्कालीन खतरा केही कम भए पनि रसुवा–नुवाकोट–त्रिशूली करिडोरमा खोज, उद्धार र पुनःस्थापनाको काम भने अझै लामो समय चल्ने देखिएको छ ।
प्रतिक्रिया