काठमाडौं–खोटाङमा बाँदरको विगविगीले बाली सखाप पारेको जनस्तरबाट ठूलो विरोध भएपछि त्यसलाई नियन्त्रण गर्न विज्ञ टोली सदरमुकाम दिक्तेल पुगेको छ ।
नेपाल सरकारको बाँदर बन्ध्याकरण (परिवार नियोजन) गर्ने पाइलटिङ कार्यक्रम अन्तर्गत प्रारम्भिक चरणको अध्ययन र अनुगमन गर्न आधादर्जन विज्ञ टोली त्यहाँ पुगेको हो ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव विकाश श्रेष्ठको संयोजकत्वमा त्रिवि प्राणीशास्त्र केन्द्रीय विभाग, केन्द्रीय रिफरल पशु चिकित्सालय लगायतका विज्ञ टोलीले प्रारम्भिक चरणको स्थलगत अनुगमन थालेका छन् ।
सोमबारदेखि कार्ययोजना बनाएर काम थालेका छन् । उनीहरुले दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा २ वर्षसम्म बादर नियन्त्रणका लागि अध्ययन गरी बादर बन्ध्याकरण तथा अन्य विधि अपनाउने तथ खोजिने टोलीका संयोजक श्रेष्ठले जनाएका छन् ।
बाँदर नियन्त्रण गर्न गत चैत दोस्रो साता माथि उल्लेखित सरकारी निकायसँग दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका बीच संझौता भएको बताइएको छ । उक्त बन्ध्याकरण कार्यक्रम यहाँ सफल भएमा देशका अन्य ठाउँमा बादर नियन्त्रणको कार्यक्रम थालिने बताइएको छ ।
बाँदर नियन्त्रण सहित बाँसजन्य वस्तुको प्रवद्धन गर्न भनेर १६ बुँदे माग राखेर गत साउन दोसो र तेस्रो सातासम्म माइतीघर मण्डलमा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका मेयरले आमरण अनसन बसेका थिए । तत्कालीन वनमन्त्री र स्वास्थ्य मन्त्रीसंग ती १६ बुँदे मागपत्रमा सहमति जनाएपछि त्यहाँका मेयरले अनसन तोडेका थिए ।
एक तथ्यांक अनुसार नेपालमा ५ लाख भन्दा बढी बाँदर रहेको बताइएको छ ।
प्रतिक्रिया