काठमाडौं– रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि भन्ने नाराका साथ ललितपुरमा १९ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी सुरु भएको छ ।
तिहार तथा छठ पर्वलाई लक्षित गर्दै फ्लोरिकल्चर एसोसिएसन नेपालले बिहीबारदेखि प्रदर्शनी सुरु गरेको हो । पााचदिने प्रदर्शनीमा विभिन्न प्रजातिका फूल तथा बिरुवाको अवलोकन र खरिद गर्न सकिनेछ ।
प्रदर्शनीमा नेपालमा उत्पादित गोदावरीका विभिन्न जातका फूलहरु छन् भने यही वर्ष भित्रिएका नयाँ प्रजातिका फूलहरु रहेका छन् । प्रदर्शनीमा ४५० भन्दा बढी प्रकारका फूल तथा बिरुवा प्रदर्शनी तथा बिक्रीका लागि राखिएको आयोजकले जनाएका छन् ।
प्रदर्शनीमा ८६ वटा स्टल रहेका छन् । त्यसमध्ये ७८ वटा व्यावसायिक, १ प्लान्ट क्लिनिक, ४ अफिसियल, २ प्रतियोगितात्मक र १ फोटो सेल्फी स्टल रहेको आयोजकले जनाएका छन् ।
प्रदर्शनीमा सहभागी नर्सरी तथा फार्मबीच गोदावरी फूलका ५ विधामा प्रतिस्पर्धा गराइने भएको छ । मिनियचर, स्पाइडर, रिफ्लेक्स, इन्कर्भ र कट फ्लावर विधामा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
उत्कृष्ट पुष्प सजावट विधामा पनि प्रतिस्पर्धा गराइनेछ । उत्कृष्ट सहभागीलाई सिल्ड, नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
घर, आँगन तथा कार्यालय र तिहार चाडपवमा सजाउन गोदावरी फूलको माग बढ्ने भएकाले प्रदर्शनीले फूलको व्यावसायिक उत्पादन, बजारीकरण र पुष्प व्यवसायको प्रवद्र्धनमा योगदान पु¥याउने अपेक्षा गरिएको आयोजकले जनाएका छन् ।
प्रदर्शनीमा ३९ हजारभन्दा बढी दर्शकले प्रत्यक्ष अवलोकन गर्ने र १ करोड ३० लाख रुपैयाँभन्दा बढीको कारोबार हुने अपेक्षा आयोजकले गरेको छ ।
