May 30, 2026
मुख्य समाचार सबै

फागुन २१ को निर्वाचनमा ३५ सय उम्मेदवार मध्ये ५ विरुद्ध उजुरी

काठमाडौँ–देशभर आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मंगलबार १६५ वटै निर्वाचन क्षेत्रमा मनोनयनपत्र दर्ता गरेका ३ हजार ४८६ उम्मेदवार मध्ये ५ जना विरुद्ध उजुरी दर्ता भएको छ ।


१६५ वटै निर्वाचन क्षेत्रस्थित निर्वाचन अधिकृतको कार्यालयमा बुधबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म ५ उजुरी दर्ता भएको निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जनाएका छन् ।
मनोनयन पत्र दर्ता भएका उम्मेदवारको योग्यता पुगेको छैन भने त्यसको विरोधमा उजुरी दिने अवधि निर्धारण गरिएको थियो । सम्बन्धित क्षेत्रको निर्वाचन अधिकृतसमक्ष प्रतिनिधिसभा निर्वाचन निर्देशिका, २०८२ को अनुसूची १६ बमोजिम उजुरी दर्ता गर्न सकिने व्यवस्था भएको हो ।


उजुरीमा निर्वाचन अधिकृतले निर्देशिकाको अनुसूची १७ बमोजिमको दर्ता किताबमा दर्ता गरी अनुसूची १८ बमोजिमको भरपाइ सम्बन्धित उजुरी कर्तालाई दिइएको आयोगले जनाएको छ । निर्वाचन कार्यक्रम अनुसार निर्वाचन अधिकृतले उम्मेदवारको विरोधमा उजुरी गर्ने म्याद समाप्त भएपछि प्रकाशन गरेका थिए ।
यसरी जसका विरुद्ध उजुरी परेको हो, सो पक्षले सूचनामा तोकिएको अवधिमा प्रमाणसहित उपस्थित हुनुपर्ने र सूचना प्रकाशन भएपछि सम्बन्धित उम्मेदवारले सोको सूचना पाएको मानिने व्यवस्था छ ।

बुधबार दिउँसो ३ बजेदेखि माघ ८ गते बेलुका ५ बजेसम्म मनोनयनपत्र र उजुरीउपर जाँचबुझ एवं निर्णय गरिने उनले बताए । माघ ८ गते बेलुकी ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिनेछ ।

माघ ९ मा बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय तोकिएको छ भने सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने आयोगले जनाएको छ ।

माघ ९ गते नै दिउँसो ४ देखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने कार्यक्रम रहेको छ । आयोगमा ३ हजार ८९ पुरुष, ३९६ महिला र तेस्रो लिङ्गी १ जना गरी ३४ सय ८६ को उम्मेदवारी दर्ता भएको छ ।

प्रतिक्रिया