May 30, 2026
सबै समाचार

चन्द्रमाको फेरो मारेर फर्किए ४ अन्तरिक्ष यात्री

काठमाडौं –१० दिनको अन्तरिक्ष यात्रापछि आर्टेमिस–२ मिसनका ४ जना अन्तरिक्ष यात्री पृथ्वीमा सकुशल फर्किएका छन् ।

शुक्रबार उनीहरु चढेको ओरायन क्याप्सुल प्रशान्त महासागरमा अवतरण भएको हो । उनीहरु चन्द्रमाको परिक्रमा गरेर अवतरण गरेका हुन् । ५० वर्ष भन्दा बढी मानिसलाई चन्द्रमाको नजिक फेरो मारेर उनीहरु सकुशल पृथ्वीमा फर्काउने यो पहिलो मिसन थियो । नासाको इन्टिग्रिटी नाम दिइएको गमड्रप आकारको ओरायन क्याप्सुल क्यालिफोर्नियाको दक्षिणी तटमा स्थानीय समयअनुसार बेलुकी ५ बजेपछि प्यारासुटको सहायताले समुद्रमा खसेको थियो।

पृथ्वीको वायुमण्डलमा प्रवेश गर्दाको अन्तिम १३ मिनेट निकै चुनौतीपूर्ण र खतरनाक थियो । यस क्रममा क्याप्सुलको बाहिरी तापक्रम २ हजार ७ सय ६० डिग्री सेल्सियससम्म पुगेको थियो।
अत्यधिक ताप र हावाको दबाबका कारण उत्पन्न प्लाज्माले गर्दा केही मिनेटका लागि यात्रीहरूसँगको रेडियो सम्पर्क पूर्ण रूपमा विच्छेद भएको थियो। तर, सम्पर्क पुनः स्थापित भएसँगै क्याप्सुलबाट प्यारासुटहरू खुलेको देखिएको थियो । जसले क्याप्सुलको गतिलाई करिब २५ किलोमिटर प्रतिघण्टामा झार्दै सुरक्षित रूपमा पानीमा अवतरण गरायो।

अप्रिल १ मा लोरिडाको केप क्यानाभेरलबाट नासाको विशाल स्पेस लन्च सिस्टम (एसएलएस) रकेटमार्फत उडेको यो मिसनले कुल ११ लाख १७ हजार ५ सय १५ किलोमिटरको यात्रा तय ग¥यो । यस मिसनमा अमेरिकी अन्तरिक्ष यात्रीहरू ५० वर्षीय रिड वाइसम्यान, ४९ वर्षीय भिक्टर ग्लोभर, ४७ वर्षीया क्रिस्टिना कोच र ५० वर्षीय क्यानेडियन अन्तरिक्ष यात्री जेरेमी ह्यान्सन सहभागी थिए।
यस यात्राले थुप्रै ऐतिहासिक कीर्तिमानहरू बनाएको छ । ग्लोभर चन्द्रमाको नजिक पुग्ने पहिलो अश्वेत, कोच पहिलो महिला र ह्यान्सन पहिलो गैर–अमेरिकी नागरिक बनेका छन्। उनीहरू पृथ्वीबाट ४ लाख ६ हजार ७ सय ७१ किलोमिटरभन्दा टाढा पुगेर सन् १९७० मा एपोलो १३ मिसनले बनाएको सर्वाधिक दूरीको कीर्तिमानलाई समेत तोडेका छन् ।
सन् २०२२ मा मानवरहित ओरायन क्याप्सुलको सफल परीक्षणपछि यो मानवसहितको पहिलो परीक्षण उडान थियो। यसको मुख्य उद्देश्य आगामी सन् २०२८ बाट अन्तरिक्ष यात्रीलाई चन्द्रमाको सतहमा उतार्ने र भविष्यमा मंगल ग्रहसम्म मानव अन्वेषण विस्तार गर्ने नासाको दीर्घकालीन योजनाको आधार तयार गर्नु हो। शितयुद्धको समयमा एपोलो मिसनमार्फत अमेरिका र सोभियत संघबीच अन्तरिक्ष होडबाजी चलेको थियो ।

अहिले आर्टेमिस कार्यक्रममार्फत अमेरिकाले अन्तरिक्ष दौडमा चीनलाई उछिन्ने लक्ष्य राखेको छ । यस सफल अवतरणले लकहिड मार्टिन कम्पनीले बनाएको ओरायन अन्तरिक्षयानको हिट सिल्ड (तातो खप्न सक्ने क्षमता) लाई प्रमाणित गरिदिएको छ ।
अघिल्लो उडानमा देखिएको समस्यालाई मध्यनजर गर्दै नासाका इन्जिनियरहरूले यसपटक पृथ्वीमा प्रवेश गर्ने बाटोमा परिवर्तन गरेका थिए। त्यस्तै, बोइङ र नर्थरोप ग्रुम्यानले एक दशकभन्दा बढी समय लगाएर विकास गरेको एसएलएस रकेट मानिसलाई सुरक्षित रूपमा अन्तरिक्षमा लैजान पूर्ण रूपमा तयार र सक्षम छ भन्ने कुरा प्रमाणित गर्यो ।
अवतरणपछि नासा र अमेरिकी नौसेनाको टोलीले पानीमा तैरिइरहेको क्याप्सुलबाट ४ यात्रीको उद्धार गरी प्रारम्भिक स्वास्थ्य परीक्षणका लागि लगेका थिए ।
एजेन्सीको सहयोगमा

प्रतिक्रिया